मेरी आमा!
परिपक्व छोरी हुन नपाउँदै
मेरी आमा,
एउटा घरकी बुहारी हुनुभयो
र
त्यो घरलाई चम्काउनुभयो ।
मस्त जवानी हुन नपाउँदै
मेरी आमा,
मेरा बा' की स्वास्नी हुनुभयो
र
मलाई जन्माउनुभयो ।
भर्खरै तरुनी हुन नपाउँदै
मेरी आमा,
मेरा बा' की श्रीमती हुनुभयो
र
मेरी आमा हुनुभयो ।
म जन्मिएँ
मेरी आमाले अस्पताल देख्नुभएन
म जन्मिदा
मेरी आमालाई अरु कसैले देखेन
मलाई हातैले टिपी
बर्कीले बेह्रेर
घाँसको भारीसँगै
मेरी आमाले घरमा बिसाउनुभयो ।
सुत्केरीलाई छुनुहुदैन भन्दै
मेरी हजुरआमाले
चिसो कुनामा बस्न भन्नुभयो ।
सुत्केरीले धेरै खानुहुन्न भन्दै
आधा बटुको ज्वानाको झोल दिनुभयो ।
मेरी आमाले ठसठसी कन्दै
नानीले फोहोर पारेका थाङ्ना धुनुभयो ।
कहिले घाँसको भारीमाथी राखेर
कहिले आफ्नो अगाडि कोक्रो झुन्ड्याएर
मलाई जङ्गल घुमाउनुभयो,
भिर देखाउनुभयो ।
दिनैभरी अर्काको मेलामा गएर
खाजामा दिएको एकमुठी मकै जम्मा गरी
मलाई सातु बनाइदिनुभयो ।
मैले सातु खाँदै तपाईं पनि खानु न भन्दा
उतै खाएर आएकी समेत भन्न भ्याउनु भयो ।
मेरी आमा तरुनी हुन नपाउँदै
मेरा बा' की श्रीमती हुनुभयो
र
मेरी आमा हुनुभयो ।
म सानो छउन्जेल त आमाले
कोक्रामा झुन्ड्याउनुभयो
बोक्नुभयो, खेलाउनुभयो, खुवाउनुभयो
म सानो भइन्जेल खासै डर लागेन अरे ।
भन्नुहुन्छ अचेल,
बाबू!!
म न तँलाई बोक्न सक्छु
न केही खेलाउन नै सक्छु
मायाले एकदुई गाँस
बरु खुवाउन त सकूँला,
देख्नेहरुले नाटक पारी भन्छन् ।
त्यसैले,
मलाई अचेल खुब डर लाग्न थालेको छ ।
कतै मेरो छोरो बिग्रेने पो हो कि?
कतै मेरो सन्तान कुटिने पो हो कि?
कतै मेरो सन्तानले बाटो बिराउने पो हो कि?
बिहान ब्युँझिएदेखि
राती ननिदाएसम्म
यिनै कुरा मनमा खेलिरहन्छन् ।
भन्नुहुन्छ,
बाबू!
तेरो रक्षक म बन्न सक्दिन
आफ्नो रक्षा अब आफैँ गर्नु ।
मेरी आमा, तरुनी हुन नपाउँदै
मेरा बा' कि श्रीमती हुनुभयो
र
मेरी आमा हुनुभयो ।